एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छः विप्लव

admin

काठमाडौं, १७ चैत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने पनि बताए। उनले एमसीसी पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरुविरुद्धको लडाइँलाई गाउँसम्म पुर्‍याउनु पर्ने बताए।

उनले भने, ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ। एउटा ध्रविकरण चलिरहेको छ। राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ। नेपाल ध्रुविकरण हुँदैछ। देशभक्त र देशघातीहरुको बीचमा। राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा।’

‘एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ। जसले संसदबाट हाम्रो देशको विरुद्ध अपराध गरेका छन्। जसले यो देशलाई विभिन्न तरीकाले मालिकहरुसँग मिलेमतो गरेर लिलाम गर्न खोजेका छन्। त्यो राष्ट्रघाती प्रवृत्ति, त्यो देशघाती प्रवृत्तिको विरुद्धमा क्रान्तिकारीहरुको नयाँ–नयाँ मोर्चाद्वारा एकतावद्ध गर्ने, जनतालाई ध्रुविकृत गर्ने, आफ्नो देश र आफ्नो अधिकारको पक्षमा गोलवन्द गर्ने प्रक्रियालाई अगाडि बढाउनुपर्छ।’

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानुनी मान्यताले लागु गर्न नसकिने बताए। कसैको आत्मसमर्पणले नेपालमा एमसीसी लागु हुन नसक्ने उनले दाबी गरे। महासचिव चन्दले एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनैपनि मूल्यमा रोक्नुपर्ने बताए।

 

प्रतिक्रिया