श्रीलंकामा आर्थिक संकट : राष्ट्रपति भवनमा आक्रमणको प्रयास, राजधानी कोलम्बोमा कर्फ्यु

admin

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गर्ने प्रयास गरेका हुन् ।

गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीसँगको झडपमा एकजना गम्भीर घाइते भएको र कयौँ मानिस पक्राउ परेका खबरमा उल्लेख छ ।

निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा हुनुहुन्नथ्यो । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् ।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ । अत्यावश्यक सामग्री खरिदको लागि पनि विदेशी मुद्रा नभएपछि समस्या बढेको छ ।

पेपर किन्न नसक्दा विद्यार्थीको परीक्षा स्थगित भएको छ, अस्पतालमा शल्यक्रिया पनि प्रभावित भएका छन् । हिजोदेखि डिजलको बिक्री बन्द हुँदा सार्वजनिक यातायात र उद्योग ठप्प भएका छन् ।

निजी बस कम्पनीले सेवा दिन छाडेपछि सरकारले ग्यारेजमा रहेका पुराना बसको मर्मत गरेर सेवा दिने तयारी भइरहेको छ ।

श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेका दाइ चमल राजापाक्षे कृषिमन्त्री हुनुहुन्छ, भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री, अर्का भाइ बासिल राजापाक्षे वित्त विभागका प्रमुख र भतिज नमल खेलकुदमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया