गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाँण

admin

तनहुँ, २१ चैत : गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् ।

आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएकाे सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएकाे बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

‘गठबन्धन बचोस् । सरकार बचोस् भन्ने चाहना छ हाम्रो । त्यो पारदर्शी कुरा हो । तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति हो’, गृहमन्त्री खाँणले प्रस्ट्याउँदै भने ।

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । ‘गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो’, उनले स्मरण गर्दै भने, ‘त्यसकारण गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने छैन् । अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ । यो संसारभर नै हुन्छ ।’

उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको रहेको बताए । उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशिल भएको गृहमन्त्री खाँणले दाबी गरे ।

‘रोजगारीको वृद्धी र अर्थतन्त्रलाई चलायमान बनाउनलाई उद्योगपति र व्यवसायी गतिशिल बन्नुपर्दछ’, उनले भने, ‘राज्यलाई अधिकतम कर तिर्न सक्ने क्षमता बनाउनुपर्दछ ।’

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘निर्वाचन हुन्छ कि हुदैन् भनेर अफवाह फैलाइएको छ । जनप्रतिनिधि विहिन हुन नदिनलाई सरकार निर्वाचनको तयारीमा लागेको छ ।’

प्रतिक्रिया