निर्माण सम्पन्न नभई पूर्वमुख्यमन्त्रीले उद्घाटन गरे सडक, वडा अध्यक्षको विरोध

admin

हेटौंडा, २३ चैत : हेटौंडा उपमहानगरपालिका-६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् ।

वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले विज्ञप्ती मार्फत विरोध जनाएका छन् ।

सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन भएपछि यसको विरोध हुन थालेको छ । टोल विकास संस्थालाई समेत खबर नगरी अनावश्यक राजनीति गर्दै निर्माण भैरहेको सडक उद्घाटन गरिएको स्थानीयको आरोप छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५/०७६ र ०७६/७७ को सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७८/०७९ मा ठेक्कामार्फत काम भइरहेको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।

भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक एमालेले वडा कार्यालयलाई उपेक्षा गरी उद्घाटन गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘निर्माण सम्पन्न भए पश्चात सल्लाहमै उद्घाटनका लागि पूर्वमुख्यमन्त्री पौडेललाई नै बोलाउँदा पनि हुन्थ्यो,’ वडा अध्यक्ष चौलागाईले भने, ‘म विकास विरोधी होइन । जसले उद्घाटन गरे पनि वडाकै विकास हुने कुरा हो । तर यहाँ अनावश्यक राजनीति गरियो ।’ सडकको दायाँबायाँ ढल निर्माण पनि भएको छैन ।

प्रतिक्रिया