छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पिएनपि खबर

काठमाडौं, २४ चैत : देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा.१७ च ४९०३ नम्बरको भ्यानले प्र.३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुरको माहालक्ष्मी नगरपालिका–८ लुभुमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतो रहेका छन् ।

झापाको दमक नगरपालिका–१० जहदा टोलमा ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने सोही नगरपालिका–८ बस्ने २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

पर्साको संखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियामा प्रदेश नं.२–०३–००१ त ४०९४ नम्बरको ट्रयाक्टरको टेलरबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेश कुमार यादव रहेका छन् ।

काभ्रेको रोशी गाउँपालिका–९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा.४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका–२ बस्ने २४ वर्षीय सरोज कुवँर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया