बेलैमा होस पुर्याएनौं भने हाम्रो अवस्था पनि श्रीलंकाजस्तो हुनसक्छ : पूर्व मुख्यसचिव डा. कोइराला

admin

काठमाडौं, २३ चैत्र : पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् ।


आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले विदेशी मुद्रामा चाप परेको छ । हुन त अहिले आँत्तिहाल्नुपर्ने अवस्था छैन् । सरकारले चनाखो भएर उपयुक्त कदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन् । तर, हामीले होस पुर्याएनौं भने श्रीलंकाजस्तो अवस्था हुनसक्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनल बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्ने हुनसक्ने पनि सुनाए । उनले भने,‘बजेट घाटा बढ्यो भने गरिबी बढ्छ ।

सरकारले समग्र विकासमा असर पर्ने कुरामा खेलबाड गर्नुहुँदैन थियो । गएको एक वर्षदेखि यी वित्तिय समस्या देखा परेका थिए । कोभिड सुरु हुनासाथ आर्थिक मन्दी हुन्छ भनेका थियौं । आपूर्ति र वित्तिय व्यवस्था सबैमा कोभिडले धक्का दियो । महामन्दीजस्तै भयो । सरकार चनाखो हुन सकेन् ।’

अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले भने,‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटनपनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।’

उनले अहिले कस्ता वस्तु आयात भैरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्ने सुनाए । उनले भने,‘हामीले यो कुरा हेर्नुपर्छ । अहिले अर्थतन्त्रलाई भार भयो। गलगाँड घाँटीमा आएको कुरा सरकारले देखेन । सरकारले सुधारात्मक उपाय अपनाउन सकेन । आर्थिक शासन व्यवस्था फेल भयो भने । जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । कमर्सियल लोन लिएका छौं । अर्थतन्त्रको उत्पादत्वकलाई ध्यान दिनुपर्छ ।’

अर्थतन्त्रको उत्पादकत्व बढाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौं। अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ ।

सुधारको बाटोमा जानुपर्छ । घण्टी बजिसकेपछि चेतिनुपर्यो । यो सुल्झाउन सकिने समस्या हो । सरकारले क्षणिक राजनीतिक तुष्टिको निम्ति अर्थतन्त्रको दीर्घकालिन स्वास्थ्यलाई खेलबाड गर्नुभएन ।’

उनले वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने,‘सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधि पनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।’

अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जाुनपर्नेमा उनको भनाई छ । उनले भने,‘राजश्वका स्रोत परिचालन गर्नुपर्छ । आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तिय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ । विकास र गभर्नेन्सको पाटो पनि छ । यसो गर्न सकियो भने सरकारप्रति जनता विश्वस्त हुन्छन् ।’

उनले शासनमा बसेकाहरुले भाषण गरेरमात्रै नहुने भन्दै त्यसको लागि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘नेतृत्वमा बसेकाहरुले काम गरेर देखाउनुपर्छ । यो मौका हो । संकटले अवसर पनि दिन्छ । सरकारले अहिलेको समस्याको तत्काल उपचार खोज्नुपर्छ । चुनावको अंकगणितमा नअल्झिकन वित्तिय स्थिरताको लागि जनतालाई दिने कुरामा हिच्कियाउनु हुँदैन्, अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने विश्वास दिलाए । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको उनको भनाई छ । उनले श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भैरहेको उल्लेख गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पारे ।

अग्रवालले भने,‘विगत केही समयदेखि अर्थतन्त्रको बारेमा धेरै कुरा पब्लिकमा आएको छ । अहिले दुई किसिमको समस्या झेल्नुपरेको छ । एउटा आर्थिक तरलता र अर्को ब्यालेन्स अफ पेमेन्ट बिग्रिएको छ । जुलाई महिनामा हाम्रो ११ महिनालाई आयात धान्नसक्ने ब्यालेन्स अफ पेमेन्ट थियो । अहिले अनौपचारिक रुपमा एल.सी. खोल्न बन्द गर्न भनिएको छ, हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन् ।’

अहिले अर्थतन्त्र सुधारको लागि सरकारको तर्फबाट चालिएको स्टेप राम्रै रहेको उनको तर्क छ । उने भने,‘नेपालको अवस्था पनि श्रीलंकाजस्तै हुने हो कि भन्ने भयको वातावरण सिर्जना भएको छ । हाम्रो अवस्था त्यस्तो छैन् । हाम्रो राजश्वपनि ठीक तरिकाले अघि बढिरहेको छ । आयातलाई सर्टेन लेभलसम्म कन्ट्रोल गर्नु ठीक हो । तर, प्यानिकको वातावरण सिर्जना गर्नुहुँदैन् । यस्तो नगर्न सुझाव छ । रेमिट्यान्स फर्मल च्यानलबाट पठाउन भन्नुपर्छ।’

उनले विदेशी रकम सञ्चितीको लागि सरकारले गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । उनले भने,‘ सरकार र एनआरएनएबीच विश्वासको वातावरण बनाउनुपर्छ । उनीहरुको मनमा भएको संशय हटाउनुपर्छ। सरकराले दीर्घकालिन योजना बनाएर काम गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट सुझाव पनि दिएका छौं ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले अहिले अर्थतन्त्र संकुचनमा जानुको आन्तरिक र बाहृय दुवै कारण रहेको सुनाए । उनले भने,‘पहिलो समस्या समाधान गर्नुपर्ने भनेको शोधान्तरण घाटा घटाएर बचततर्फ लैजानुपर्छ । अनावश्यक वस्तुको आयात घटाउनुपर्छ । राष्ट्र बैंकले आवश्यक कदम चालेको छ, अब अर्थ मन्त्रालय र उद्योग मनलयले पनि कदम चाल्नुपर्छ । विभिन्न वस्तुको आयात घटाउनुपर्छ।’

रेमिटयन्सको अवैद्य कारोबार हटाउनुपर्ने र औपचारिक च्यालनबाट मात्रै रेमिट्यान्स ल्याउन प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । उनले अहिले पेट्रोलियम पदार्थको उपयोग कम गर्नुपर्ने पनि धारणा राखे ।

उनले भने,‘ग्याँसको चुलोलाई विस्थापन गर्नुपर्छ । विद्युतीय चुलोमा लगानी बढाउनुपर्छ । निमुखालाई निःशुल्क र सहुलियत दरमा विद्युतीय चुलो उपलब्ध गराउनुपर्छ । हाम्रो बजारलाई लगानीमैत्री र प्रोडक्सन फ्रेण्डली बनाउनुपर्छ । समन्यवात्मक रुपले गम्भीर भएर लाग्ने र दीर्घकालिन रुपमा असर पर्नेगरि कदम चाल्नुपर्छ ।’

उनले नेपालको आर्थिक अवस्था पनि श्रीलंकाजस्तो अवस्था हुन थाल्यो भन्ने कुरा पनि चर्चामा रहेको सुनाए । उनले भने,‘अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिएको छ । हाम्रो अर्थतन्त्रको अहिलेको अवस्थाबाट सुधार गर्नुपर्छ । तरलताको अभाव नै पहिलो समस्या हो । व्यापार घाटा पनि देखियो । वैदेशिक सहायता कमि भयो । मूल्यवृद्धि भयो । यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र कता जान्छ भनेर चिन्ता र चासो जन्मिनु स्वभाविक हो ।’

अहिले अर्थतन्त्रमा समस्या आउनुको बाहृय कारण भने कोभिडको महामारी नै भएको सुनाए । उनले भने,‘यो हाम्रो बसमा थिएन । पछिल्लो चरणमा रुस र युक्रेनबीच भएको युद्ध अर्को बाहृय कारण हो । अब हाम्रो आन्तरिक कारणको कुरा गर्दा सबभन्दा ठूलो कारण, हाम्रो पोलिसीको खराबी हो । एउटाले गर्नुपर्नै काम अर्कोले गर्ने परिपाटी देखियो ।

आफूले गर्नुपर्ने काम अर्कोले गरेको छ, कोभिडको महामारीबाट अर्थतन्त्र ठप्प भयो । छिमेकीले कस्तो नीति अपनाए ? त्यो पनि हामीले हेरेनौं, कोभिडले हाम्रो अर्थतन्त्रमा कस्तो असर सिर्जना भयो ? यसमा समाधान कसरी गर्ने भन्ने पनि हेरिएन । कोभिडको कालामा तीन खर्ब २२ अर्बजसतो नोक्सानी हुन गयो ।

कोभिडपछिको सहुलियत कर्जापनि घरजग्गा र सेयरमा गएको देखिन्छ ।’ उनले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट नभएको जिकिर गरे । उनले भने,‘अहिलेको समस्या छ, नीति निर्माताहरु, राजनीतिक दलका नेताहरुले निर्वाचन आएको छ, निर्वाचनको जोडघटाउमा लाग्ने हो भने भोलि के हुन्छ ? भनेर भन्न सकिँदैन् । कतिपय निकायमा जानकारीको कमी देखिन्छ । प

हिले यो समस्या ठूलो होईन भनेर बसेको देखियो, कुनै निकाय चाहीँ चिन्तित देखिएन । उद्योग मन्त्रालयमा मन्त्रीपनि हुनुहुुन्न । त्यहाँबाट हुनुपर्ने हस्तक्षेप देखिएन। प्रत्यक्ष संलग्न निकाय तात्नुपर्छ ।’

उनले शोधान्तरण घाटा र मूल्यवृद्धिको समस्या अरु समयको जस्तो समस्या नभएको उल्लेख गरे । उनले भने,‘शोधान्तरण घाटा अरु समस्याभन्दा गम्भीर समस्या हो । शोधान्तरण घाटाको समस्या तत्काल समाधान गर्नुपर्छ । ७ महिनाकै अविधिमा २ खर्ब ४७ अर्ब शोधान्तरण घाटा दखिएको छ । यसमा गम्भीर भएर सोच्नुपर्छ ।’

 

प्रतिक्रिया