म्याग्दीमा साझा उम्मेद्वार घोषणा गरेर चुनावमा जाने गठबन्धनबीच सहमति

admin

पोखरा, २४ चैत: म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्वारको टुंगो लाग्ने नेताहरूले बताएका छन् । चुनावी तालमेलका लागि जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरिएको छ ।

बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा र राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा सहभागी थिए ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा कांग्रेसले जितेको थियो । पाँचवटा वडामा माओवादी केन्द्र विजयी भएको थियो । बाँकी पालिकाको प्रमुख, उपप्रमुखसहित वडाहरू एमालेले जितेको थियो भने २ वडा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । बेनी नगरको उपप्रमुख एमालेको समर्थनमा राप्रपाले जितेको थियो ।

प्रतिक्रिया