कांग्रेसका नेता शेखर पक्षको निर्णय : गठबन्धन अस्वीकार, अटेर गरे आफ्नै रणनीति

admin

महोत्तरी, २४ चैत : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ ।

मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ । कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । ‘यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,’ कोइराला पक्षधर नेता विनोद खनालले भने ।

बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ ।

‘हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,’ प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने ।

संस्थापन इतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडी बढेको गुनासो गरे ।नेपाली कांग्रेसको अहिलेको स्तरलाई हेर्दा गठबन्धनको जरुरी नभएको बताउँदै नेता यादवले पहिलो चरणमा आफूहरूको निर्णयलाई सुझावकोरुपमा पेस गर्ने बताए ।

मधेश प्रदेश संस्थापन इतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ । स्थानीय तहमा समेत एक्लै लड्ने बताउँदै नेता रामसरोज यादवले संस्थापन पक्षले जबरजस्त गर्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया