युक्रेनमाथि आक्रमणको बिरोधमा डा. केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने

admin

काठमाडौं, २५ चैत: डा. गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ले उनको ठहर छ ।

यस्तो छ डा, केसीको विज्ञप्ति

नमस्ते आदरणीय महानुभावहरु,

रुसी राष्ट्रपति पुटिन ले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का कारण) छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरे । फलस्वरूप बालबालिका, गर्भवती महिलालगायत हजारौं को मृत्यु भएको छ भने ४० लाख भन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन वाध्य भएका छन् । हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् । लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएका छन् ।

यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन ।

त्यसैले भोलि चैत २५ गते शुक्रबार अपरान्ह २ः३० वजे नेपालस्थित रुसी दूतावास (वालुवाटार, काठमाडौं) अगाडि यो चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सवै महानुभावहरुलाई हार्दिक अनुरोध छ ।

धन्यवाद ।

डा गोविन्द केसी
२०७८ चैत २४

प्रतिक्रिया