‘परिर्वतनका लागि हाम्रो आवाज’का संयोजक साजन विश्वकर्मा उन्नत लोकतन्त्र पार्टीको केन्द्रिय प्रवक्ता

admin

काठमाडौं, २७ चैत्र : नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वमहानिर्देशक लिम्बु र ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा स्वागत नेपालले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका हुन् ।

वायुसेवा निगमका महाप्रबन्ध केबी लिम्बुलाई अध्यक्ष स्वागत नेपालले संस्थापक सदस्यता प्रदान गरेका थिए । यसैगरी, आज ‘परिवर्तनका लागि हाम्रो आवाज’का संयोजक साजन विश्वकर्माले पार्टीको संस्थापक सदस्यता ग्रहण गरेसँगै अभियान पनि आजदेखि उन्नत लोकतन्त्र पार्टीमा समाहित भएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष स्वागत नेपालले वायुसेवा निगममा हुने जरैदेखिको भ्रष्टाचारलाई निर्मुल पार्ने एक व्यक्ति केबी लिम्बु भएको बताए । उनले भने,‘शनिबारसहित विदाको दिनमा पनि कार्यालयमा काम गर्ने केबी लिम्बुको शैलीलाई त्यहाँका कर्मचारीहरुले पनि सम्झिरहेका छन् ।’

केबी लिम्बुमा अध्ययनप्रति निकै लगाव र झुकाव भएको उल्लेख गर्दै उनको सादगीपनले आफू निकै लोभिएको सुनाए । लिम्बुले आफूहरुको पार्टीको स्थापना कालदेखि नै साथ, समर्थन र शुभकामना दिँदै आएको नेपालको भनाई छ ।

अध्यक्ष नेपालले एमसीसीविरुद्ध मात्र नभई चुच्चे नक्सा सार्वजनिक गर्न दिने आन्दोलनमा साजन विश्वकर्मासँग सँगै आन्दोलनमा उत्रिएको उनले सुनाए ।

उनले भने,‘साजनजीले नेतृत्व गरेको अभियानसँग हाम्रो वैचारिक र सैद्धान्तिक दुवै रुपमा मिल्छ ।’ साजन विकको साहित्यिक पृष्ठभुमि पनि रहेको भन्दै उनले विश्वकर्माको विचार देखेर आफु आकर्षित भएको सुनाए ।

उनले भने,‘हामीबीच शासकीय दृष्टिकोणमा समानता छ ।’ चुनावको अघि पार्टी प्रवेश गराउनेमा विचारको विकास नहुने भन्दै उनले यसरी प्रवेश गराउँदा देशको विकास र मुलुकको हित नहुने जिकिर गरे । यो व्यवस्थाको अन्त्य नभएसम्म मुलुकको हित र समृद्धि नहुने स्पष्ट पारे ।

एकै विचार भएका मानिसहरु एकै ठाउँमा उभिनपर्ने भन्दै नेपालले उम्मेदवार खराब भए खारेज गर्न पाउनुपर्ने ‘राइट–टु–रिजेक्ट’को पर्खाईमा धेरै जनता रहेको जिकिर गरे ।

हिरो–हिरोइन लगायत अन्य जस्तो पार्टी प्रवेश गरेकोजस्तो नभई आफुहरुको यो पार्टी प्रवेश फरक भएको उनको भनाई छ । आफ्नो पार्टीको कार्यालयमा नेताको फोटो नभई किताबको फोटो हुनेपनि उनले बताए । पार्टीको विचार नेपालमा परम्परागत रुपमा भएका विकृतिलाई हटाउने भएको उनले उल्लेख गरे ।

त्यस्तै, पार्टी प्रवेश गर्दै केबी लिम्बुले आफुले जहाज उडाएको ४२ वर्ष नाघेको सुनाए । तेह्रथुममा लिम्बुलेबाहेक अन्य जातले चुनाव नजित्ने उनले दाबी गरे । ठुला दलले जतिपटक जितेपनि देशमा परिवर्तन सोचेको जस्तो नभएको उनको भनाई थियो ।

‘एउटा काम ढिलै भएपनि संविधान लेखेको हो । उनीहरुबाट जुन आशा थियो, त्यो चरम विन्दुमा पुगिसक्यो, उनीहरुले गरेका काम र घोषणपत्रबारे सबैलाई जग जाहेरै छ ।’

–उनले भने । १९८० को दशकमा भारतमा खुल्ला उद्योगको अवधारणा आएको उल्लेख गर्दै लिम्बुले त्यसको आर्किटेक्ट राजीब गान्धी रहेको पनि स्मरण गराए । उनले भने,‘त्यही भएर भारतमा आजको अवस्था परिवर्तन भएको छ ।’

उनले दुई तिहाईको सरकारका दुई क्याप्टेनहरुको अक्षमता प्रदर्शन गरेको भन्दै देशको हितका निम्ति उन्नत लोकतान्त्रिक पार्टीको उदय हुन लागेको जिकिर गरे । पुराना दलको पुरानो किसिमको मुल मन्त्र र राजनीतिले निकास नदिएको भन्दै अब जनताले कुर्न नसक्ने बताए ।

अब फरक धार फरक अवधारणाले मात्र देश बन्ने पनि उनले धारणा राखे । उनले भने,‘अबको देशको अपरिहार्यताको पार्टीको रुपमा हाम्रो पार्टी अघि बढ्छ ।’ अब आफ्नो पार्टीको विकल्प नहुने पनि जिकिर गरे ।

उम्मेदवारहरुलाई अस्वीकार गर्ने वा फिर्ता बोलाउने प्रावधान लोकतन्त्रमा किन हुनुपर्नेमा पनि उनले जोड दिए । एक व्यक्तिले दुईपटक भन्दा बढि कुुर्सी ओगट्न नहुने उनले तर्क गरे ।

उनले आफ्नो पार्टीको ७७ जिल्लामा नै सञ्जाल रहेको बताउँदै विकृति, अनियमितताविरुद्ध विद्रोह गर्दा स्वागत नेपालको पार्टीसँग आफु ठोक्किन पुगेको सुनाए ।

उनले भने,‘अबको प्रजातन्त्र यो पाटोमा नगई अन्य विकल्प नै छैन् । राज्यलाई निकास चाहिएको छ, त्यसकारण सबै जना उन्नत लोकतान्त्रिक पार्टीमा आउनुहोस् ।’ अब पुराना नेताहरुलाई जनताले भोट र जनमतले विश्राम दिलाउनुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य रामराज आचार्यले जनताको आवाज कुनै पार्टीले नउठाएको भन्दै उन्नत लोकतन्त्र पार्टीको स्थापना गर्नुपरेको बताए ।

उनले आफ्नो पार्टी अहिलेको संसदीय व्यवस्था खारेजको लागि अघि बढेको जिकिर गरे । उनले भने,‘पुरानो रक्सी नयाँ बोतलमा हालेर झुक्याउने विरुद्ध हामीहरु उभिएका छौ ।’

कार्यक्रममा बोल्दै नवप्रवेशी साजन विश्वकर्माले विचार सबैभन्दा ठुलो भएको सुनाए । लामो समयदेखि उन्नत लोकतन्त्र पार्टीसँगै काम गर्दै आएको र लामो प्रयासपछि आज पार्टी एकता गर्न सफल भएको सुनाए ।

उनले आजको सफलताले नयाँ रुपान्तरण शक्तिको रुपमा प्रस्तुत हुने पनि प्रतिवद्धता गरे । राज्य सत्ता निर्माणको लागि आफ्नो पार्टीको उदय भएको भन्दै उनले पार्टीको विचार नै जनताको एजेण्डा भएको जिकिर गरे । संख्यात्मक हिसाबले कमजोर भएपनि वैचारिक रुपमा पनि पार्टी कमजोर नभएको उनले स्पष्ट पारे ।

जनताको विचारलाई समेट्न नयाँ शक्तिको रुपमा उदाएको उल्लेख गर्दै विश्वकर्माले समाजको समानान्तर रुपान्तरणको निम्ति पार्टीको एकता भएको उल्लेख गरे । उनले राज्य सत्ता कब्जा गर्नको निम्ति आफुहरु लागेको उल्लेख गर्दै समाज रुपान्तरण गर्नको लागि आफ्नो पार्टीको स्थापना भएको स्पष्ट पारे ।

उनले राजनीति भनेको सेवा हो भन्दै जनताको सेवा गर्न आफुहरु प्रतिबद्ध भएको बताए । उनले विदेश जानबाट रोकेर युवाहरुलाई रोजगारीको सिर्जना गर्ने आफ्नो लक्ष्य भएको सुनाए ।

उनले आफ्नो सबै सदस्यहरुलाई सबैलाई यथास्थानमा रहेर उन्नत लोकतान्तिक पार्टीसँग सहकार्य गर्न आग्रह गरे । आजको कार्यक्रमको सञ्चालन संगठन विभाग प्रवक्ता दुर्गा बस्नेतले गरेका थिए ।

प्रतिक्रिया