आपसी मतभेद पन्छ्याउँदै स्थानीय निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने पाँच दलीय गठबन्धनको घोषणा

admin

काठमाडौं, २८ चैत: सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका हुन् ।

हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । बैठकपछि पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरूको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ,– ‘पाँच दलीय गठबन्धनको अपिल अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ ।’

परिवर्तलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवतर्नका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन् ।
देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन् ।
व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन समेत सबैमा अनुरोध गरेका छन् ।

विज्ञप्तीमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया