वर्ष २०७९ कस्तो रहला ?

admin
  • सुरेशचन्द्र रिजाल
    ज्योतिष तथा बास्तुविद्

ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्छ । तिथि चन्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैतको पहिलो सातादेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्छ ।

‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् भन्ने धार्मिक मान्यता पनि रहँदै आएको छ ।

हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ ।

ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७९ मा निम्न विशेषताहरू समावेश भएको देखिन्छ । यस वर्ष राक्षस नामको संवत्सर सकिएर नलूनामको संवत्सर प्रारम्भ भएको छ । नयाँ संवत्सरको फल विचार गर्दा वर्षको सुरुदेखि नै चुनावी माहोल बनिरहेकाले सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ ।

वैशाख ९ गते सम्म चुनावी तालमेलमा अशुभ योग परेकाले चुनाब सार्ने शक्तिको सकृयता बनिरहने छ । यस वर्ष शनि राजा र देवगुरु बृहस्पति मन्त्रीको भूमिकामा वर्षभरि शुभ वृद्धि भावमा रहनेहुदा बिशेषतस् शनि तथा बृहस्पतिको सकारात्मक तालमेल हुदा कृषि तथा पर्यटनबाट पूर्णरूपमा सहयोग बनिरहने छ ।

नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ । यसवर्ष संवत्सर प्रारम्भ हुने दिन चैत १९ गते शनिबार परेकाले शनिग्रह वर्षभरिका लागि राजा र वैशाख १ गते बिहीबार परेकाले मन्त्रीको पद देवगुरु बृहस्पति ग्रहलाई प्राप्त भएको हो ।

त्यसैले यस वर्ष राजा शनि तथा मन्त्री बृहस्पतिको सकारात्मक तालमेल हुँदा माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुनेयोग परेकाले आर्थिक रुपमापनि सुधार हुने हुँदा आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।

शनि तथा बृहस्पति ग्रहको प्रभावका कारण आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ, आमजनताले शान्तिको सास फेर्न पाउने छन् ।

यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ, आयातित सामग्रीको मुल्य बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण फलफूल र बालीनालीमा देशको दक्षिणी भेगमा नोक्सानी हुने सम्भावना छ ।

पछिल्लो समयमा देखा परेरको आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ । बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभरी नै बनिरहनेछ ।

अन्तरास्ट्रिय स्तरमा नेपालको उड्डयन क्षेत्रमा लगाईदै आएको कालोसूची यसै वर्षबाट हटाउन सक्नेछन् । लामो समयदेखि घाटामा रहेको शेयरबजार वैशाखको दोस्रो हप्ताबाट विस्तारै सुधार हुँदै जाने छ ।

छिमेकी देशसँगको सम्बन्ध वर्षभरि नै सकारात्मक रहिरहने छ । कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ । समग्रमा २०७९ साल सकारात्मक नै रहने छ ।

प्रतिक्रिया