महाकाली र महालक्ष्मी जात्रामा रमाए भक्तपुरवासी

admin

भक्तपुर, २ वैशाख : धेरैलाई लाग्दो हो, भक्तपुरको बिस्का जात्रा भनेको ल्योसिंद्य (लिंगो) उठाउने, ढाल्ने, भैरवनाथको रथ तान्ने,जिब्रो छेड्ने अनि अबीर जात्रा हो भनेर । तर, भक्तपुरको बिस्का जात्रा यतिमा मात्रै सीमित छैन ।

आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा भक्तपुरका टोल-टोल ठाउँ-ठाउँमा जात्रा भइरहेका हुन्छन् । ती धेरै जात्रामध्ये एउटा प्रख्यात जात्रा हो । महाकाली महालक्ष्मी जात्रा अर्थात् महाकाली महालक्ष्मीको ख ल्वाकेगू (खट जुधाउने) जात्रा ।

यो जात्रा प्रत्येक वर्षको बिस्का जात्राको क्रममा वैशाख २ गते भक्तपुर नगरपालिका वडा नम्बर वडा नम्बर १० स्थित महाकाली र महालक्ष्मीमा हुनेगर्छ । जात्राको क्रममा हजारौं मानिस सहभागी हुने गर्छन् । जात्रा विशेष गरेर साँझ हुन्छ । जात्रा हेर्न भक्तपुरका विभिन्न टोलबाट महाकाली महालक्ष्मीस्थान पुग्ने गर्छन् जात्राप्रेमी जत्रा हेर्नका लागि ।

स्थानीय महाकालीका इन्जिनियर कृष्णभक्त दुवाल बिस्का जात्राको क्रममा आफूलाई आफूहरूको टोलमा हुने जात्रा मुख्य लाग्ने बताउँछन् । ‘यो स्वाभाविक मानवीय रूप पनि हो’, उनी भन्छन्, ‘वास्तवमा निकटता भनेकै यही त हो नि । यो दिन विशेष गरेर स्थानीय महाकाली र महालक्ष्मीका स्थानीयवासी रमाउने गर्छन् । प्रत्येक वर्ष बिस्का जात्राको क्रममा हुने महाकाली र महालक्ष्मीको जात्रामा उनीहरू दमदार रूपमा रमेका हुन्छन् ।’

भक्तपुरको महालक्ष्मी र महाकालीको जात्राबारे एक किम्बदन्ती छ। जुन अहिले पनि त्यतिकै प्रचलित छ। बताइए अनुसार हिजोको दिन अर्थात् नयाँ वर्षको पहिलो दिन बिस्केट जात्राको अवसरमा याछें टोलको गणेद्य (गणेश देवता)ले आफ्ना दिदीहरूलाई भोजको निम्तो घरमै नगई भोलाछेंको चौबाटोसम्म मात्र दिएर गई फर्किन्छन्।

घरसम्म पनि नआइकन भाइले भोजको निम्तो दिएको कुरा नजिकैको दिदी महाकाली देवीलाई जानकारीसमेत हुँदैन अरे । यो कुरा उता बेखाल, महालक्ष्मीस्थाननिर बस्ने महालक्ष्मी देवीलाई भोजको कुरा थाहा थियो रे ।

आजको दिन अर्थात् नयाँ वर्षको दोस्रो दिनमा बहिनी महालक्ष्मीले दिदी महाकालीलाई भाइले भोजको निम्तो गरेको छ भोज जाऔं भनी भोजको कुरा बनाएर बोलाउन जान्छन् र सँगै नाच्दै भाइकोमा भोज खानको लागि दिदीबहिनी याछें पुग्छन् । तर भोज खुवाउने भाइको नाक–मुख नै देख्दैनन् ।

भाइको अत्तोपत्तो नभएपछि रिसले चुर भएर दुई दिदीबहिनी फर्किन्छन् र महालक्ष्मीस्थान र भोलाछेंकोबीच बाटो (दुगुजले) भने ठाउँमा बहिनीले त्यसै झुठो कुरा गरेको र भोज खान नपाएको भनी दिदीले बहिनीमाथि रिस पोख्न पुग्छन् । त्यो रिस दिदीबहिनीको झगडामा परिणत हुन्छ ।

आज त्यही दिदीबहिनीको झगडालाई जात्राको प्रतीक मानेर विभिन्न बाजागाजा र दाफा भजनसहित हर्षोल्लासका साथ महालक्ष्मीदेबी र महाकालीदेवीको रथ जुडाउने गर्छन् । स्थानीय हरिकृष्ण दुवाल यही मान्यताका साथ अहिलेसम्म पनि जात्रा चल्दै आएको सुनाउँछन् । यसबाहेक अरू पनि हुनसक्ने बताइन्छ ।

प्रतिक्रिया