स्थानीय तहको सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति

admin

काठमाडौं, ४ वैशाख : सत्तारुढ दलहरुको गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति गर्न सकेनन् ।

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको ‘स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति’ को बैठकमा पाँचै दलका नेताहरुले आ–आफ्नो दाबी पेस गरे ।

बैठकबाट आइतबार कुनै टुंगो नलागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे अन्य सहयात्री दलको धारणा मागेका थिए । कार्कीले बैठकमा तालमेललाई व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको बताए ।

बैठकमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरसहित धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी गरेको छ भने नेकपा (एकीकृत समाजवादी)पोखरा महानगरसहित उपमहानगरमा दाबी गरेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रतिक्रिया