धनुषामा ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

पिएनपि खबर

काठमाडौं, ५ वैशाख : धनुषा जिल्लामा करिब ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

८ वैशाखदेखि १६ सम्म चल्ने खोप अभियानमा १८ वटै पालिकाका १५ महिनादेखि १५ वर्ष उमेरका २ लाख ९६ हजार ७ सय ७५ बालबालिकालाई खोप लगाइनेस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जुगलकिशोर यादवले टाइफाइडविरुद्धको खोप अभियानलाई सफल र प्रभावकारी बनाउन१ हजार ६१ वटा खोप केन्द्रको स्थापना गरिएको जानकारी दिए । सामुदायिक तथा संस्थागत विद्यालयसहित ७ सय ६२ वटा विद्यालयमा पनि खोप लगाइने उनले बताए ।

विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि खोप दिनेछ । खोप अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरिने छ ।

२ सय १५ वटा खोप टोलीसमेत परिचालन गरिने र १ सय ६८ जना स्थानीय सुपरभाइजर समेत खट्ने स्वास्थ्य कार्यालयका खोप अधिकृत राजदेव यादवले बताए । उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार धनुषामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

टाइफाइड दूषित पानी र बासी सडेगलेका खानेकुरा र फोहोर हात मुखमा जाँदा संक्रमण हुने रोग भएकोले सरसफाइमा बढी ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया