तालमेलका नाममा अपमानपूर्ण व्यवहार गरे सैह्य हुँदैन : माधवकुमार नेपाल

admin

काठमाडौं, ५ वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा एकीकृत समाजवादले आयोजना गरेको पार्टी प्रवेश एवं घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दा अरुको शक्तिको अवमूल्‍यन गर्ने गरेको र अपमानपूर्ण ढंगले पनि व्यवहार भइरहेको भन्दै आफ्नो पार्टी अपमान सहनका लागि नभएर विद्रोह गरेर जन्मेको धारणा राख्नुभयो ।

उहाले गठबन्धनभित्र सहमति खोज्ने र सहमति नभएका स्थानमा मित्रवत ढंगले प्रतिष्पर्धाका आधारमा जाने टुुङ्गो लागेको उल्लेख गर्नुभयो । सात महिनामै मेची देखि महाकालीसम्म पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै आफ्नो पार्टीको भविष्य उज्जल रहेको उहाको भनाई छ ।

अध्यक्ष नेपालले जनमुखी स्थानीय सरकार, विकास समृद्धिको आधार नाराका साथ घोषणापत्र सार्वजनिक भएको भन्दै जनताको बिकासको चाहना र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाले आफ्नो तहको बिकासको मास्टरप्लानसहित जनतामाझ जान निर्देशन दिनुभयो ।

एकीकृत समाजवादीको घोषणापत्रमा जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

त्यस्तै बिभिन्न आयोजनाको सुरुवात गरिएको, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, भ्रष्टाचार निर्मुल पार्ने, हरेक पालिकामा पुस्तकालय बनाउने लगाएतका बिषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको थियो ।

प्रतिक्रिया