सुरु भयाे गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता

admin

काठमाडौं, ६ वैशाख : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।

काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो क्रममा नेता सिंहले खेल र खेलाडीको बिकासका लागि वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया