पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

admin

कास्की, १६ वैशाख : पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा पोखराको प्रमुख सत्ता गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को भागमा परेपछि असन्तुष्ट हुँदै उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

मनोनयन फिर्तापछि सापकोटाले आफूले साङ्केतिकरुपमा गठबन्धनको विरोधमा उम्मेदवारी दिएपनि पार्टी नेतृत्वले आगामी दिनमा आमकार्यकर्ताको भावनाअनुसार अघि बढ्ने प्रतिवद्धता जनाएकाले फिर्ता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो कारणले केन्द्रको गठबन्धन विग्रन सक्ने सम्भावना र पार्टी केन्द्रको निर्देशन, नेताको आग्रहअनुसार उम्मेदवारी फिर्ता लिएको हुँ । हामीले हाम्रा असन्तुष्टि पार्टी नेतासमक्ष स्पष्ट राखेका छौँ ।

आगामी दिनमा त्यसलाई सम्वोधन हुने विश्वास छ ।” उम्मेदवारी फिर्तापछि आफूहरुको समर्थन गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यलाई रहने र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने तिवारीले बताउनुभयो ।

प्रतिक्रिया