काठमाडौं, १९ वैशाख : उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् प्रतिभा मानन्धरले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जानकारी दिइन्।
सोमवार दिउँसो बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। यी प्रदेशमा सोमवार राति पनि पानी पर्ने अनुमान छ।
मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहे पनि हल्का तथा क्षणिक हुने मौसमविद् मानन्धरले बताइन्। प्रिमनसुनको समय भएकोले एकैछिनमा वर्ष, हावाहुरी तथा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।