स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः भुसाल

admin

बुटवल, १९ वैशाख : एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,” उनले भने– महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।”

महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालिको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । “यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरू अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ ”, भुसालले भने ।

तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।एमालेका उम्मेदवारको तुलनामा अरू कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दाबी गरे ।

प्रतिक्रिया