केपी ओली देशीविदेशी शक्तिका मोहरा : टंक राई

admin

खोटाङ, २१ वैशाख : नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले वर्तमान गठबन्धन केपी ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध भएको बताएका छन् ।

खोटाङमा गठबन्धन दलले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले ओलीलाई मोहरा बनाएर मुलुकलाई असफल बनाउन उद्यत शक्तिका विरुद्ध वर्तमान गठबन्धन भएको बताएका हुन् ।

‘हामी केपी ओलीविरुद्ध गठबन्धन गरिरहेका छैनौं । एउटा व्यक्तिका विरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन ।

केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थिर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिक्रियावादी शक्तिहरू लागिपरेका छन्,’ पूर्वसांसदसमेत रहेका राईले भने ।

अनुशासन आयोग प्रमुख राईले निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरेको दाबी गरे । अर्को प्रशंगमा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख राईले बाम लोकतान्त्रिक संयुक्त आन्दोलन नै नेपालको निकास भएको उल्लेख गरे । उनले मुलुकमा कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको ऐतिहासिक शिक्षाबाट वर्तमान गठबन्धन बनेको बताए ।

‘कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको छ । यो ऐतिहासिक शिक्षा हो । यो हाम्रो नेपाली जनआन्दोलनको इतिहासले स्थापित गरेको चरित्र हो,’ राईले भने, ‘यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वा अमुक मान्छेलाई मेयर उपमेयर बनाउन गठबन्धन भएको होइन । यो बाध्यताभन्दा पनि मुलुकको आवश्यकताले भएको हो ।

जन विरोधी, नेपाल विरोधी शक्तिले नेपाललाई अस्थिर, कमजोर र असफल राष्ट्र तुल्याउनका लागि गरिरहेको षडयन्त्रका विरुद्धमा लोकतान्त्रिक वाम शक्ति एक ठाउँमा उभिनुपर्ने आजको ऐतिहासिक आवश्यकताको हो ।’

उनले नेपालको जनआन्दोलनको चरित्र संयुक्त आन्दोलन भएको स्पष्ट पारे । लोकतान्त्रिक र बाम शक्ति एक ठाउँमा नउभिएसम्म कुनै पनि किसिमको परिवर्तन हुन नसकेको उनको टिप्पणी थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमय, संघीय महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज समिता कार्की अस्मिता र नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव राजन आचार्यले गठबन्धनलाई तल्लो तहसम्म बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया