मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेल लागायतका सामान नियन्त्रणमा

पिएनपि खबर

खोटाङ, २२ बैसाख : मतदाता प्रभावित पार्नका लागि बाँड्न लागिएको आशंकामा खोटाङ प्रहरीले प्लाष्टिक टनेल, चामल, जस्तापाता, चाउचाउ, सिलिण्डर लगायतका सामान नियन्त्रणमा लिएको छ । दिक्तेलबजारबाट को २ त ९३५४ नम्बरको ट्याक्टरमा राखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडातर्फ ट्याक्टरमा लैजाँदै गरेको ४० थान प्लाष्टिक टनेल, चाउचाउ, चामल, जस्तापाता, ग्याँसको सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ ।

एमालेले मतदातालाई बाँड्नका लागि ढुवानी गरिरहेको दाबी गर्दै कांग्रेस र माओवादी केन्द्रनिकट युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको बानाचुङमा ट्याक्टर रोकेर प्रहरीलाई जानकारी गराएको थियो । ट्याक्टरमा पाल ओछ्याएर त्यसमाथि राखिएका सामान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी उमेश लम्सालले बताए ।

प्रहरीका अनुसार ट्याक्टरमा भएका कतिपय सामान बिलसहितका र कतिपय बिलविनाका छन् । ट्याक्टरमा ढुवानी भइरहेको सामान व्यक्तिगत, संस्थागत वा अन्य प्रयोजनका लागि लागि ढुवानी गरिएको’ भन्ने खुल्न बाँकी छ । बरामद भएको सामान सरकारी वा व्यक्तिको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी फनिन्द्र दाहालले बताए ।

रातका समयमा बरामद भएको सामानको बारेमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा गठबन्धन र एमालेका उम्मेद्वारबीचमा वादप्रतिवाद भएको जनाइएको छ । गठबन्धनका नेताले बुधबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य समिता कार्कीले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया