स्थानीय तह निर्वाचन: राजसंस्था फर्काउन शाही यूवा शक्ति नेपालका अभियन्ताहरुले दिए स्वतन्त्र उम्मेदवारी

admin

काठमाडौं, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि शाही यूवा शक्ति नेपालले काठमाडौं महानगरपालिका लगायत देशका केही पालिकाहरूमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लागि लड्दै आएको यूवा शक्ति नेपालले काठमाडौं महानगर, बनेपा नगरपालिका र तारकेश्वर नगरपालिकामा उम्मेदवारी दिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार महेन्द्र प्रजापतिले बुढा खाडाले देश चलाएकोले काठमाडौंको विकास हुन नसकेको बताए । उनले आफ्नो उद्देश्य काठमाडौं महानगरलाई स्वच्छ सफा हराभरा बनाउने रहेको स्पष्ट पारे ।

उनले भने,‘काठमाडौंलाई हराभरा बनाउन र भ्रष्टाचार मुक्त बनाउन मेयर पदमा उम्मेदवारी दिएको हुँ ।’ उनले शाही नेपाल युवा शक्तिले आफुलाई समर्थन गरेकोमा धन्यवाद दिए ।

आफुलाई जिताउने जिम्मा जनताको हातमा रहेको भन्दै चुनाव चिन्ह ‘ठेकी’ मा आफुलाई मतदान गर्न उनले आग्रह गरे । प्रजापतिले आफु निर्वाचित भए भ्रष्टाचार मुक्त र हराभरा काठमाडौं बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका स्वतन्त्र उम्मेदवार रामहरि खड्काले नगरपालिकाले जनताको हितमा काम नगरेको आरोप लगाए ।

उनले भने,‘अहिलेसम्म नगरले हेर्न पर्ने कुरा हेर्दै नहर्ने र गर्न पर्ने काम गर्दै नगर्ने र भोट माग्ने दिनमा मात्र कार्यकर्तालाई अत्यधिक परिचालन गरेर साम दाम दण्ड भेद गरी स्वतन्त्र जनतालाई थिचो मिचो गरेका छन् ।’

अत्याचारले आजित भएका जनताहरुलाई केही गर्छु भनेर आफुले उम्मेदवारी दिएको उनको भनाई थियो । मेयर, वडाध्यक्षले गर्ने काम कर्तव्य पनि उनीहरुलाई थाहा नभएको उनले आरोप लगाए । जनताले भोट किन दिने भन्ने त्यसको जानकारी उम्मेदवारहरुलाई नै नभएको भन्दै जनता अहिले सचेत भएको टिप्पणी गरे ।

जनता अबुझ नभएको भन्दै उनले स्वतन्त्र उम्मेदवारलाई मत दिनेमा आफु ढुक्क भएको विश्वास व्यक्त गरे। खड्काले जनताको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्दै उनले मतको महत्व बुझेर चुनाव चिन्ह गुलाबमा भोट दिन पनि नगरवासीलाई आग्रह गरे ।

उनले भने,‘स्वतन्त्र भएर जनताको चुरो कुरो के हो ? माग के छ भन्दै जनतालाई केही गर्छु भनेर अगाडी बढेको छु ।’ उनले राम्रोसँग बुझेरमात्र पैसाको लालचमा नफसी जनतालाई मत दिन आग्रह गरे ।

काभ्रे बनेपा नगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार प्रेम बैदारले आफुले युवा शक्तिको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएको बताए । बनेपामा ५० हजारौ मतदाता रहेको भन्दै उनले बनेपाको हितको लागि आफुलाई मत दिनुपर्ने धारणा राखे ।

उनले युवा शक्ति नेपालले चित्त नबुझेको ठाउँ र राजावादी धेरै भएको स्थानमा मात्र उम्मेदवारी दिएको जानकारी दिए ।

उनले भने,‘नेपालभरका नागरिकले यसपटक विचार गरेर मात्र भोट हाल्न पर्छ । नत्र पछुताउनुपर्नेछ ।’ बनेपामा सरकारले गर्ने काम आफुहरुले गर्दै आएको उनले दाबी गरे ।

नेपालमा अहिले भएको व्यवस्थाको विरोध गर्दै उनले ५ वर्ष यता आफ्नै ठाउँमा आ–आफ्ना मान्छेबीच पनि झगडा बढाएको उनको भनाई थियो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ठुला पाँचदलले देश लुट्न साँठगाँठ गरेको उनले टिप्पणी गरे ।

आफुहरु हिन्दु धर्म र राजसंस्था पुर्नःस्थापनाको लागि निरन्तर लडिरहेको भन्दै चुनाव चिन्ह ‘खरायो’मा आफुलाई मतदान गर्न नगरवासीसँग आग्रह गरे।

प्रतिक्रिया