काठमाडौं महानगरमा मेयरका उम्मेदवार प्रेमसागर कर्माचार्यको ३२ बुँदे समाधान-पत्र

admin

काठमाडौं, २४ बैशाख: काठमाडौं महानगरपालिकामा मेयरमा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट प्रेमसागर कर्माचार्यले उम्मदवारी दिएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रक्तदाता समाजका केन्द्रिय अध्यक्षसमेत रहेका कर्माचार्यले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयरमा उम्मेदवारी दिएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कर्माचार्यले आफ्नो पार्टीले राईट टु रिजेक्ट र राईट टु रिकलको अवधारणा आत्मसाथ गरेको बताए । उनले अन्य राजनीतिक पार्टीले घोषणापत्र जारी गरेपनि इमानदारको साथ आफुले समाधान पत्र जारी गरेको स्पष्ट पारे ।

उनले समाधान पत्रमा भएको ३२ बुंदा अनुसार काम नगरे आफुलाई जुनसुकै समयमा कारबाही गर्न नगरवासीसँग आग्रह गरे । उनले आफ्नो प्रतिस्पर्धा कुनै दलका नेतासँग नभई महानगरवासीसँग भएको सुनाए । नगरवासीको हातमा नेतृत्व छान्ने अधिकार रहेको उनको भनाई थियो ।

१६९ पटक रक्तदान गरेका कर्माचार्यले हाल लिइरहेको बहाल करमा ५० प्रतिशत सम्म छुट गर्ने, उपत्यकाभित्र सम्पुर्ण सार्वजनिक स्थलमका निःशुल्क वाईफाईको ब्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गरे ।

कर्माचार्यले आगलागि नियन्त्रणको लागि भित्री शहरमा पाईप लाइन बिस्तार गर्ने, फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, छुट्टै महानगरीय सार्वजनिक सवारीको व्यवस्था, ट्राफिक जामको यथोचित व्यवस्थापन गर्ने प्रतिवद्धता समेत समाधान पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै, समाजसेवामा अग्रसर कर्माचार्यले काठमाडौंको फोहोर व्यवस्थापन तीन तरिकाले गर्ने भएका छन् । उनले समाधान पत्रमा काठमाडौंको फोहोर व्यवस्थापनमा पहिलो फोहोरको वर्गिकरण गर्ने, दोस्रो ल्याण्डफिल्डलाई न्युनिकरण गर्दै जाने र तेस्रो पुनप्र्रयोजनलाई व्यवस्थापन गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

महानगरका प्रत्येक बैठकलाई अनलाइनमा राख्ने पनि उनले बताए । महानगरलाई स्वस्थ्य बनाउन योग, ब्यायाम स्थल स्थापना गर्ने उनको भनाई छ । उनले पत्रमा पुर्जाबिहीन महानगरवासीलाई पुर्जा उपलब्ध गराउने पनि प्रतिवद्धता गरेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेमा कर्माचार्यको जोड दिदैे दिर्घरोगीहरुलाई घरघरमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उनले बताए ।

त्यस्तै, पार्टीका महासचिव कृष्ण प्रसाईले पार्टीले लामो समयदेखि काठमाडौं महानगरपालिकाको नेतृत्व लिने व्यक्तिको खोजी गर्दै आएको र नेतृत्व लिनसक्ने क्षमता कर्माचार्यमा देखेर उम्मेदवार बनाएको बताए । उनले भने,‘हामी भिडको पछि लाग्दैनौ, कामको पछाडी लाग्न सबैलाई आग्रह गर्छौै, कामै छाडेर कार्यक्रममा आउन कसैलाई भन्दैनौ ।’ देशको नेतृत्व राम्रो भए मुलुक परिवर्तन गर्न सकिने उनको भनाई थियो । उनले भने,‘मुलुक परिवर्तन हुन सबै परिवर्तन हुन पर्दैन, नेतृत्व परिवर्तन भए पुग्छ ।’ जनताले चुनेर पठाएका तर काम गर्न नसक्ने प्रतिनिधिहरुलाई फिर्ता बोलाउन र बहिस्कार गर्न पाउने व्यवस्था लागु गर्ने अवधारणा आफ्नो पार्टीले बोकेको सुनाए ।

अध्रिवक्ता तथा पार्टीका केन्द्रीय सदस्य इन्द्र कालिकोटेले महानगरपालिकामा उन्नत लोकतन्त्रको प्रत्याभुति दिन कर्माचार्यलाई पार्टीले उम्मेदवार बनाएको बताए । पार्टीले काठमाडौं नगरवासीको हकहितको लागि समाजसेवी कर्माचार्यलाई उम्मेदवार खडा गरेको उनले जिकिर गरे । उनले भने,‘कर्माचार्यले आफ्नो रगतले धेरै जनाको जीवन बचाउनु भएको छ ।’ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीले एजेण्डा नबनाई नगरवासीको समस्याको समाधान गर्न आफ्नो पार्टी अघि बढेको कालिकोटेले दाबी गरे । उन्नत लोकतान्त्रिक पार्टी र उम्मेदवारहरुले आम जनताको हितमा काम गर्ने बताए ।

प्रतिक्रिया