पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न सरकारसमक्ष माग

पिएनपि खबर

काठमाडौं, ३ जेठ : नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । महासंघले आयल निगमले थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरि कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गर्नुभयो । उहाले देशमा दिनहुँ मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको धारणा राख्नुभयो ।

महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरि सरकारले डिजेल र पेट्रोलको मुल्यवृद्धि गरेको टिप्पणी गर्नुभयो उहाँले प्रत्येक चिजको नियम परिवर्तन गर्न गाह्रो भएपनि सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया