एन्फा छानविन समितिको निष्कर्षः मुख्य प्रशिक्षकको विकल्प खोज्नु

admin

काठमाडौं, ६ जेठ : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र ९ जना खेलाडीबीच विवादको सत्यतथ्य पहिल्याउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।

खेलाडी र प्रशिक्षक विवादले चर्को रुप लिएपछि एन्फाले अघिल्लो साता नेपाली सेनाका पूर्वरथी भिक्टर राणाको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विदूर विष्टसम्मिलित समिति गठन गरेको थियो । समितिले एक साता लगाएर छानविन पूरा गरी २८ पृष्ठको प्रतिवेदन मंगलबार एन्फालाई बुझाएको थियो ।

प्रतिवेदनमा खेलाडी, टिम व्यवस्थापक तथा एन्फा सचिवालय र मुख्य प्रशिक्षक गरी तीन पक्षको कमजोरी औल्याएको छ ।

छानविन समितिको प्रतिवेदनमा कतार फुटबल संघको सहयोगमा नेपाल आएका फिफा फ्रो लाइसेन्सधारी कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फा सचिवालयसँग समन्वय नगरी एकलौटी र स्वेच्छाचारी ढंगले काम गरेको, खेलाडीको छनोट, प्रशिक्षण र मूल्यांकन गर्ने जिम्मेबारीबाहेक अन्य कार्यमा समेत हस्तक्षेप गरेको ठहर गरेको छ ।

छानविन समितिले खेलाडीहरु बन्द प्रशिक्षणबाट भागेको कुरामा सत्यता नरहेको बरु प्रशिक्षक अल्मुताइरीले ९ जना खेलाडीलाई बारम्बार अमर्यादित भाषामा निस्केर जानु भनेपछि खेलाडीहरु बाध्य भएको निष्कर्ष निकालेको छ ।

प्रशिक्षकले खेलाडीलाई बाहिर जाने निर्देशन दिनुको कारण पनि प्रष्ट बताउन नसकेको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिक्रिया