ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष

पिएनपि खबर

ललितपुर, १० जेठ : ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् ।

ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ । बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।

महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने, तर एमालेसँग साँठगाँठ गरेर जिताए । यो राम्रो भएन ।’

कांग्रेस नेताहरूले मिलेको र सालिन देखाएको तर भोट भने नहालेको उनको बुझाइ छ । ‘असन्तुष्टि भए बाहिरै देखाएको भए हुन्थ्यो,’ कट्टेल भन्छन् ।
शतप्रतिश्त गठबन्धन लागू हुनुपथ्र्यो भन्ने आफूले नसोचे पनि ५० प्रतिशत कांग्रेसको भोट आउने आफूले अपेक्षा गरेको उनको भनाइ छ । ‘तर ३० प्रतिशत पनि भोट आएन,’ उनी भन्छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक हरि दाहालले कोञ्ज्योसोम, महालक्ष्मी र ललितपुर महानगरमा गठबन्धन लागू नभएको निष्कर्षमा पुगेको बताए ।
केही दिनपछि पार्टीको बैठक बसेर गठबन्धनमा भएको धोकाको विषयमा गम्भीर समीक्षा गरिने उनले बताए ।

तर, माओवादी केन्द्रको आरोपबारे कांग्रेस नेताहरूले हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया