स्थानीय तहको निर्वाचनमा भक्तपुरमा कांग्रेस पहिलो दल बन्यो, एमाले दोस्रो

राष्ट्रिय समाचार समिति

भक्तपुर, १० जेठ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारमा भक्तपुरमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीनवटा नगरपालिकाको नेतृत्व गर्दै पहिलो पार्टी बनेको नेकपा (एमाले) यस पटकको निर्वाचनमा भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको नेतृत्व गुमाउँदै र सूर्यविनायक नगरपालिकामा मात्रै खुम्चिँदै दोस्रोमा पुगेको हो ।

भक्तपुरका चार पालिकामध्ये कांग्रेसले मध्यपुरथिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रमुखमा विजयी भएसँगै पहिलो पार्टी बन्न सफल भएको छ ।

भक्तपुर जिल्लाको कूल ३८ वडामध्ये कांग्रेस एक्लैले १५ वटा वडाध्यक्षमा विजयी भएको छ । समग्रमा भक्तपुर जिल्लामा कूल जनप्रतिनिधिमध्ये ६३ कांग्रेसबाट विजयी भएका छन् ।

एमालेले सूर्यविनायक नगरपालिकाको प्रमुख तथा उपप्रमुख र चाँगुनारायण नगरको उपप्रमुखमा चित्त बुझाउनुपरेको छ ।

जिल्लामा कूल नौवटा वडाको वडाध्यक्षमा मात्रै एमाले विजयी भएको छ । एमालेले जिल्लामा कूल ६५ जना विजयी भएका छन् ।

जिल्लामा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नगर, उपप्रमुखसहित १० वटै वडाका वडाध्यक्ष र सदस्यसहित एकलौटी विजय हासिल गरेको छ भने चाँगुनारायणको एउटा वडामा सबै नेमकिपाले जित हासिल गरेको छ ।

नेमकिपाले जिल्लामा कूल १२ वटा वडामा वडाध्यक्षमा जित हासिल गरेको छ । नेमकिपाको ५४ जना विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने कांग्रेससँगको गठबन्धनमा दुई वटा वडाको वडाध्यक्षमा मात्रै विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) ले भने गठबन्धनको तर्फबाट मध्यपुरथिमि नगरपालिकाको उपप्रमुखमा एक जना मात्रै विजयी भएको छ ।

गठबन्धनबाटै वडासदस्यमा उम्मेदवारी दिए पनि माओवादी केन्द्रका उम्मेदवार विजयी हुन सकेनन् ।

प्रतिक्रिया