काठमाडौं, १८ जेठ : काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू भएको छ । काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थालेका छन् ।
मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन साहले नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेका थिए ।
उक्त निर्णयअनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू एण्ड बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।
रेस्टुरेन्ट, ट्याटू एण्ड बारका सञ्चालक उमेन्द्र श्रेष्ठले आजबाट आफ्नो बारको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग सुरु गरेको बताए ।
उनले भने, ‘हामीले आफ्नै तजबिजमा आजबाट हाम्रो बारको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएका छौं ।
कुनै शुल्क नलिइकन हामीले यो सुविधा दिने निर्णय गरेका हौं ।’ महानगर वा अन्य कुनै निकायसँग पनि छलफल नगरी एकल निर्णय गरेको उनले बताए ।