मूल्यवृद्धि गराउने निर्वाचन प्रणाली सुधारौँ : हरिराज अधिकारी

पिएनपि खबर

काठमाडौं, २० जेठ : माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले मूल्यवृद्धि गराउने निर्वाचन प्रणाली सुधार्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निर्वाचनलगत्तै मूल्यवृद्धि हुने गरेकाले अब मूल्यवृद्धि गराउने अहिलेको निर्वाचन प्रणाली सुधार्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

‘हिजो मैले एकजना पूर्वनिर्वाचन आयुक्तसँग कुरा गरेको थिए । नेपालमा निर्वाचनको इतिहाससँगै निर्वाचनलगत्तै मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘पहिला पहिला थाहा हुँदैनथ्यो रे । अहिले स्वतः थाहा हुने भयो । स्थानीय तहको निर्वाचन सकियो, मंसिरमा चुनाव हुन्छ, फेरि मूल्य बढ्छ ।’
मूल्यवृद्धि नियन्त्रणका लागि सर्वदलीय छलफलमार्फत निर्वाचन प्रणाली सुधार्नुपर्ने सांसद अधिकारीले बताए ।

‘सर्वदलीय हिसाबले एउटा छलफल गरौँ । यो निर्वाचन प्रणालीलाई करेक्सन गरौँ । पूर्ण समानुपातिक हुने, पार्टीहरु मान्छेले रोज्ने पाउने । पार्टीले ल्याउन र फर्काउन पाउने अधिकार पार्टीलाई हुनेवित्तिकै यो आफैँ नियन्त्रण हुन्छ,’ उनले भने, ‘निर्वाचनमा व्यक्ति हार्नुपर्ने, जित्नुपर्ने र इज्जतसँग जोडिने अवस्था रहेसम्म मूल्यवृद्धिको समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया