काठमाडौं, २१ जेठ : काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शिक्षालयको होस्टेलमा वार्डेन बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना शनिबार दिउँसो बाहिरिएको थियो।
लगत्तै फरार रहेका वार्डेन बस्नेतलाई रामेछाप प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
घटना बाहिरिएको करिब ४ घण्टामा नै आरोपी वार्डेन पक्राउ परेका हुन्। सो घटनामा अभिभावकहरूले विद्यालय घेराउ गर्न पुगेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले विद्यालयका प्रधानाध्यापक दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई घटनाबारे जानकारी लिन नियन्त्रणमा लिएको छ।
वार्डेन बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुको छ। वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका बालिकामाथि दुर्व्यवहार गरेको मौखिक उजुरी आएको प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।
होस्टेलमा बस्ने छात्राहरुलाई वार्डेन बस्नेतले अश्लिल भिडियो देखाउने, संवेदनशील अंगहरूमा छुने लगायतका कार्य गर्ने गरेको आरोप अभिभावकहरुको छ।