काठमाडौं, २४ जेठ : मधेश आन्दोलन र थरुहट आन्दोलन लगाएत बिभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने लगाएतका माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका ११ माग बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइएको लोसपाले जनाएको छ ।
लोसपाले महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगाएतका बन्दीहरुलाई अविलम्व रिहाई गर्न ध्यानाकर्षण गराएका छन् । त्यस्तै संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिन पनि लोपसाले माग गरेको छ । लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि माग गरेको छ भने बाढी पहिरो नियन्त्रणका लागि तत्कालिन अल्पकालिन र दिर्घकालिन कार्यक्रम लागू गर्नुपर्ने र विस्थापितहरुको बसोबासको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिनुभयो ।
लोसपाले आकाशिएको महंगी र कालो बजारी अविलम्व नियन्त्रण गर्नुपर्ने र पछि परेका समूदायलाई प्राथमिकतामा राखि भूमि बितरण सम्बन्धी कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएको छ ।