एनप्याब्सनले विपन्न प्रहरीका छोराछोरीलाई निःशुल्क पढाउने

admin

काठमाडौँ, १९ असार : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन)ले अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आइतबार एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको हो ।

एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको र श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष सिंहले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताउनुभयो ।

तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उहाले जानकारी दिनुभयो ।

सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ ।

 

प्रतिक्रिया