बैंकमा पैसा राख्नेमा रुकुम पूर्वका नागरिक सबैभन्दा पछाडि,कुन जिल्लाका नागरिक अघि ?

admin

बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रूपमा रुकुम पूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रूपमा रहेको यो जिल्लाको कुल निक्षेप ० दशमलव २३ प्रतिशत मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार यस जिल्लाका नागरिकले ९३ करोड ७३ लाख रुपैयाँ बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा राखेको पाइएको छ ।

केन्द्रीय बैंकले सात वटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको छ । त्यही क्रममा पछिल्लो पटक लुम्बिनी प्रदेशको विवरणसमेत प्रकाशित गरेको छ ।

बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप गएको वर्षको तुलनामा कम मात्रामा मात्रै वृद्धि भएको छ । कुल चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको निक्षेप लुम्बिनीभित्र रहेको पाइएको छ । विसं २०७८ असारको तुलनामा नौ प्रतिशतले निक्षेप बढेको छ ।

रुपन्देहीको हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ । केन्द्रीय बैंकको विवरणअनुसार कुल ४४ दशमलव ४८ प्रतिशत बराबरको हिस्सा यस जिल्लाको छ ।

बुटवल, भैरहवालगायतका क्षेत्रमा औद्योगिक विकास भएको, गौतमबुद्ध विमानस्थलसमेत सञ्चालनमा आएको, उद्योग व्यवसाय विस्तार भएकाले यस जिल्लाका नागरिकको कमाइ पनि बढ्दो छ । त्यही कारणले गर्दा त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा बढी मात्रामा निक्षेप जम्मा गरेका छन् ।

विवरणअनुसार यस जिल्लाका नागरिकले एक खर्ब ७९ अर्ब १८ करोड सात लाख ८० हजार रुपैयाँ बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । बाँकेको १२ दशमलव २७ प्रतिशत बराबरको हिस्सा रहेको छ । त्यो भनेको कुल ४९ अर्ब ४१ करोड ४५ लाख २० हजार रुपैयाँ बराबर हो । दाङ आर्थिक रूपमा विकासको गतिमा अगाडि बढेको भए पनि त्यहाँका नागरिकले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ । केन्द्रीय बैंकको विवरणअनुसार यस जिल्लाको हिस्सा मात्रै १० दशमलव ८१ प्रतिशत बराबर छ । त्यो भनेको कुल ४३ अर्ब ५३ करोड ११ लाख ८० हजार रुपैयाँ बराबर रहेको छ ।

केन्द्रीय बैंकको विवरणअनुसार कपिलवस्तुको हिस्सा ६ दशमलव ३२ प्रतिशत रहेको छ । यस जिल्लाका नागरिकले २५ अर्ब ४४ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । लुम्बिनी प्रदेशको पाल्पाको हिस्सा ५ दशमलव ७३ प्रतिशत मात्रै छ । त्यो भनेको कुल २३ अर्ब आठ करोड ९१ लाख ५० हजार रुपैयाँ बराबरको निक्षेप पाल्पावासीले बैंक तथा वित्तीय संस्थामा राखेका छन् ।

नवलपरासी पश्चिमको हिस्सा ५ दशमलव ५० प्रतिशत अर्थात् २२ अर्ब १३ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको रकम निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन् ।

यसैगरी गुल्मीको हिस्सा ५ दशमलव २९ प्रतिशत रहेको छ । यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा २१ अर्ब ३० करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको रकम निक्षेपका रूपमा राखेका छन् ।

कम निक्षेप राख्ने जिल्लामा क्रमशः अर्घाखाँची, बर्दिया, प्युठान र रोल्पा रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । अर्घाखाँचीको हिस्सा १२ अर्ब ५४ करोड ८६ लाख ३० हजार अर्थात् ३ दशमलव १२ प्रतिशत बराबरको निक्षेप राखेका छन् । बर्दियाको १२ अर्ब ८७ करोड ७४ लाख ७९ हजार अर्थात् ३ दशमलव २० प्रतिशत बराबर रकम मात्रै निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन् ।

प्युठानको सात अर्ब ७६ करोड ६६ लाख ३० हजार अर्थात् १ दशमलव ९३ प्रतिशत, रोल्पाको चार अर्ब ६० करोड ५६ लाख ७० हजार अर्थात् १ दशमलव १४ प्रतिशत बराबरको रकम मात्रै निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन् । ऋण लिनेमा पनि रुपन्देहीका नागरिक नै अग्रस्थानमा छन् । यस जिल्लामा मात्रै प्रदेशको कुल १२ जिल्लामध्ये सबैभन्दा बढी ऋण लिएको पाइएको छ । केन्द्रीय बैंकको अध्ययनअनुसार यस जिल्लामा मात्रै ५० दशमलव १० प्रतिशत बराबरको ऋण लगानी भएको छ । यस जिल्लामा दुई खर्ब ६९ अर्ब १४ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको ऋण लगानी भएको छ ।

दाङमा ६४ अर्ब २१ करोड ७९ लाख ७० हजार, बाँकेमा ८९ अर्ब ८२ करोड तीन लाख ७० हजार, बर्दियामा १६ अर्ब ४६ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको ऋण लगानी भएको छ ।

निक्षेपसमेत कम राखेको रुकुम पूर्वमा बैैंक तथा वित्तीय संस्थाको लगानी ६८ करोड ९० लाख सात हजार रुपैयाँ बराबर गरेका छन् । प्रदेशगत रूपमा हेर्दा बैंक तथा वित्तीय संस्थाले ० दशमलव १३ प्रतिशत बराबरको रकम मात्रै ऋणका रूपमा लगानी गरेको पाइएको छ । प्रदेशभर नै चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको निक्षेप उठाएका बैंक तथा वित्तीय संस्थाले पाँच खर्ब ३७ अर्ब १९ करोड १४ लाख ९० हजार रुपैयाँबराबरको ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया