सरकारले फिर्ता लियो नागरिकता विधेयक

admin

काठमाडौँ, २१ असार : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो ।

विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो ।

नागरिकता विधेयक पास नहुँदा लाखौँ नागरिकले नागरिकता पाउन नसकेको भन्दै विधेयक पारित गर्न चौतर्फी दबाब रहेको छ ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषय विवादमा रहेको छ । अहिले जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकका सन्तानले नागरिकता नपाउँदा समस्या रहेको छ ।

प्रतिक्रिया