बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

admin

बझाङ, असार २३ : बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्।

बुङ्गल नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका अन्दाजी १४ वर्षीय, १५ वर्षीय र १६ बर्षीय तीन जना लाई पक्राउ गरेको हो।

जेठको दोस्रो सातातिर बालिकाका आमाबुबा रोपाईंमा गएको र घरमा कोही नभएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षले जनाएको छ।

तीनै जनाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिएका थिए। बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाई भएको पीडितका आफन्तले जनाएका छन्।

विहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।

बलात्कारका आरोपी तीनै जना नाबालक भएकाले जबरजस्ती करणीमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी, प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया