पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीद्वारा स्वीकार

admin

काठमाण्डाै, असार २६ : जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ ।

नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका बीबीसीले जनाएको छ । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो ।

घटनापछि जापान शोकमा डुबेको छ । त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।

आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । उहाँको पर्सि मङ्गलवार अन्त्येष्टि गर्ने तयारी छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घरमै पुगेर पूर्वप्रधानमन्त्रीको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

साथै उहाँले पूर्व प्रधानमन्त्री आबेकी पत्नीलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ । विश्वका शीर्ष नेताहरुले पनि आबे परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । पक्राउ परेका पुरुषमाथि छानबिन चलिरहेको छ ।

प्रतिक्रिया