मनाइयो गुरु पूर्णिमा

admin

काठमाडौँ, २९ असार : प्राचीन गुरुकूल परम्पराबाट सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।

मनाइयो व्यास जयन्ती

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा आजै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको छ धर्मशास्त्राचार्यहरुको तर्क छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो ।

यस्तो वैदिक गुरु परम्परालाई गुरुकूलले विशेषरुपमा निरन्तरता दिँदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नेक्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया