रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

admin

असार २९, रोल्पा : रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्णरूपमा लगाएको हुनु पर्दछ ।

तोकिएको मापदण्डअनुसार यस वर्ष रोल्पाका चार हजार ४९९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएकाले रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी दिनुभयो ।

पूर्णखोप सुनिश्चितता घोषणासँगै यसको दिगोपना मुख्य चुनौती भएको सरोकारवालाको भनाइ छ । “चुनौतीको सामना गर्दै कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन सबै पक्ष लाग्नुपर्छ”, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगरले भन्नुभयो ।

कार्यक्रममा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न अहोरात्र खट्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूहलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया