प्रचण्ड आज भारत जाँदै , यस्तो छ तीन दिने भ्रमण तालिका

admin

काठमाडौं, असार ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन्।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आज नयाँदिल्ली प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ दिल्लीस्थित दीनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालयमा स्वागत गरिने छ। जहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेंट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने/नहुने अहिले निश्चित छैन। यद्यपि भेटको समय मिलाउने प्रयास भइरहेको बुझिएको छ। प्रचण्डले दिल्ली बसाईको क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ। त्यस्तै दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको बताए।

‘अध्यक्षले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भाजपा अध्यक्ष नड्डाले अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका हुन्,’ उनले भने। मल्लकाअनुसार अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया