२९ महिनापछि आज उपसभामुख पाउँदै प्रतिनिधिसभा

admin

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ। शुक्रबार अपराह्न ३ बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ।

उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन्। यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।

भुसाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा.शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन्। अर्की उम्मेदवार भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की–२ बाट निर्वाचित भएकी हुन्।

शुक्रबार दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन। सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमतको अवस्था देखिएको छ।

रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया