साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २ साउन : पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ ।

बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउनुभएकी सुशीला गिरी लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताउनुहुन्छ ।

विसं २०७७ र २०७८ का साउन महिनामा कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले यस वर्ष धेरै भक्तजन दर्शनका लागि आएका छन् ।

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको थियो ।

पशुपति क्षेत्र विकास कोषले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आज विशेष पूजाका लागि १६० भक्तजनले रसिद काटेका छन् । साउन महिनामा रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । कोषले साउन १ गतेदेखि विशेष पूजाको शुल्क रु एक हजार १०० बाट बढाएर रु दुई हजार १०० पु¥याएको छ ।

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

भक्तजनलाई निःशुल्क भोजन
पशुपति क्षेत्रमा आउने भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाल असार ३२ गते शनिबारदेखि एक महीना पशुपति क्षेत्रमा पशुपतिनाथको प्रसादका रुपमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताउनुहुन्छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ ।

यसअघि मगन्तेरहित घोषणा गरिएको पशुपति क्षेत्रमा साउने सोमबारका अवसरमा धेरै मानिस माग्न बसेको देखियो । महाशाखा प्रमुख पराजुली भने कोरोना महामारीपछि मानवीयताका नाताले मगन्ते हटाउन बल प्रयोग नगरिएको बताउनुहुन्छ ।

साउन महीनाका अवसरमा पशुपति क्षेत्रमा अतिरुद्राभिषेक कार्यक्रम पनि आयोजना गरिएको छ । महायोग सिद्ध परिवारले आयोजना गरेको महायज्ञ आज सुरु भई साउन १० गते सम्पन्न हुने जनाइएको छ । अति रुद्राभिषेकमा १२१ ब्राह्मण पण्डितले रुद्राभिषेक गर्ने आयोजक समितिले जनाएको छ ।

राजधानीका अन्य शिवालयमा पनि भक्तजनको भीड
राजधानीका अन्य शिवालयमा पनि रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ ।

पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वर मन्दिरमा भक्तजनको लर्को
यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यता समेत छ ।

यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर दर्शन गरेको अधिकांश भक्तजन गोकर्णेश्वरमा आउन थालेका छन् । मन्दिर दर्शनका लागि आउने भक्तजनका लागि आवश्यक व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम महतले बताउनुभयो ।

सुन्दरीजल–पशुपतिनाथ बोल बम यात्रा
वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि भीड लागेको छ । कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुली सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउन चाहने भक्तजनका लागि एउटा ढोकाको व्यवस्था गरिएको बताउनुहुन्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा आएर चढाउने परम्परा छ ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवर सहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् ।

यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिर लगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण दुई वर्ष विसं २०७७ र २०७८ मा प्रभावित भएको थियो । कोरोनाको प्रभाव कम भएसँगै यसले फेरि निरन्तरता पाएको छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दुध लगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा समेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने, सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ ।

नागेश्वरमा बढे भक्तजन
यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी विभिन्न व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो ।

मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गरेको छ । साउन महीनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाट समेत राहत मिल्ने धार्मिक विश्वास छ ।

राजधानीका वसन्तपुरस्थित सानो पशुपतिनाथ, साँगा भञ्ज्याङको शिव मन्दिरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया