पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक

admin

बैतडी, ३ साउन : पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् ।

पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ ।

अस्पताल स्थापना भएको विसं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन् । जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन् ।

अस्पतालमा गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था रहिआएको छ भने अन्य शल्यक्रिया सेवा पनि थप गरिने अस्पताल प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । अहिले सामान्य अवस्थाका बिरामीले धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ ।

यसबीच जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा पुनः सुरुआत भएको छ । मेसिन बिग्रेर बन्द रहेको थाइराइड जाँच सेवा मेसिन मर्मतपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ । थाइराइड जाँचका लागि रु ३०० देखि ७०० सम्म खर्च हुने बताइएको छ ।

शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाको महिनावारी अनियमित हुनेलगायतका लक्षण देखापर्ने चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया