तलब नदिएको भन्दै जनता टिभीका पत्रकार र कर्मचारी हड्तालमा

admin

काठमाडौँ, ५ साउन : श्रमजीवी–पत्रकार सङ्घ, नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ । सो टेलिभिजनमा नौ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो गरेका छन् ।

सङ्घका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालय अगाडि आज कालो व्यानर र पोष्टरसहित एक घण्टा धर्ना दिइएको हो । अध्यक्ष जैसीले अहिलेको २१औँ शताब्दीमा पनि श्रम शोषण गरिनु लाजमर्दो भएको बताउनुभयो ।

धर्ना कार्यक्रममा सार्क जर्नालिस्ट फोरम, नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवाल, सो सङ्घका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णुकुमार गिरीलगायतले ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रारम्भिक चरणको आन्दोलनमा टेलिभिजनको कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्बिरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।

सो टेलिभिजनमा पीडित पत्रकार तथा कर्मचारीहरूले व्यवस्थापनसमक्ष तीन दिने अल्टिमेटम दिँदै छ बुँदे माग राखेका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजय पौडेलले पत्रकार तथा कर्मचारीको बक्यौता रकम चाँडै भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया