चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’

admin

काठमाडौँ, १५ साउन : चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ ।

सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका (अपाङ्ग) तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ ।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पु¥याउने छन् ।”

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उहाँले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिनुभयो ।

पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ ।

साथै अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता (अपाङ्गता) भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

‘डायलायसिस सेवा’ले मिर्गाैलाका बिरामीलाई थप सहज हुने उहाँले बताउनुभयो । नगर प्रमुख गिरीले भन्नुभयो “स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरुपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ । ”

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । सो अवसरमा नगरपालिकाले १५ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया