काभ्रेको तीनघरेमा पहिरो खसेपछि सडक अवरुद्ध

राष्ट्रिय समाचार समिति

काभ्रे, १८ साउन : अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो ।

पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले पु¥याएको अवलोकन गर्नुभएको छ । पहिराका कारण त्यहाँका दुई घरसमेत जोखिममा परेको बनेपा नगरपालिकाले जनाएको छ ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले पहिरामा परेर एउटा मोटरसाइकलसमेत पुरेको र अहिले मान्छेसमेत आवतजावत गर्न कठिन भएको बताउनुभयो ।

“पहिरो ठूलै गएका कारण अझै पनि माथिबाट अलिअलि ढुङ्गा र माटो खस्नेक्रम रोकिएको छैन”, उहाँले भन्नुभयो, “जोखिमको अवस्था भएका कारण तत्काल सडक खुलाउनसक्ने अवस्था छैन ।”

पहिराका कारण जोखिममा रहेका घरलाई तत्कालका लागि सुरक्षा दिन नगरपालिका विपद् व्यवस्थापन कोषबाट त्रिपालको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

पहिरो गएर सडक नै अवरुद्ध भएपछि अहिले बनेपा–तीनघरे–अनेकोट चल्ने सवारीसाधनसमेत ठप्प भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मनसुन सक्रिय रहेको अवस्थामा तत्कालका लागि पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले पानी रोकिएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चलन गर्ने बताउनुभयो ।

जिल्लामा विपद्का घटना छिटफुटरुपमा देखापरेको बताउँदै जिल्ला प्रशासन कार्यालयले मनसुन प्रतिकार्य योजना तयार गरेर काम गरिरहेको उहाँको भनाइ छ । विपद्मा परेर अहिलेसम्म दुई जना बालक बेपत्ता रहेको र एक जनाको बाढीले बगाएर मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया