चलचित्र ‘प्रकाश’ लाई हलवालाहरुले विभेद गरेको भन्दै चलचित्र निर्माण टिमको आक्रोश

admin

काठमाडौं, १० भदौ : दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपक्ति जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित साक्षात्कारमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए ।

प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले आफुले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।

आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन् । एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ ।’

उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे । फिल्ममा धेरै जनाको मेहनत रहेको उनको भनाई छ ।

अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे । उनले भने,‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी

कति हेपिएर बस्ने ? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र ?’
उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो ? भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

क्लबका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली चलचित्रलाई सबैले माय गर्नुपर्ने उल्लेख गर्दै प्रदर्शनको क्रममा राजनीतिकरण गर्न नहुने धारणा राखेका छन् । प्रकाश चलचित्रले नेपाली जनताको मन जितिसकेकोले कहाँ चलेको छ ? भनेर खोज्न सुरु गरेको सुनाए । उनले भने,‘प्रकाश चलचित्र अब जनताले कहाँ छ भनेर खोज्न सुरु गरेका छन् । जनताले हामीलाई यही चलचित्र चाहिन्छ भन्न थालिसकेका छन् ।’

उनले अभिनेता प्रदीप खड्काले २ वर्षको लामो अध्ययनपछि निकै मेहनत गरी अभिनय गरेको उक्त फिल्म उत्कृष्ट भएको दाबी गरे । नेपाली फिल्म हेर्ने नेपालीहरुको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको उल्लेख गर्दै उनले राम्रो फिल्म दर्शकले दोहोर्याएर पनि हेर्ने गरेको बताए । प्रकाश चलचित्रलाई प्रदर्शनको क्रममा कुनैपनि तवरले अवरोध र अन्याय गर्न नहुने जिकिर गरे ।

उक्त चलचित्रका अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो की भएन त्यो चाँही ठुलो कुरा भएको बताएका छन् । उनले भने,‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन् भनेर ट्यागै त लगाउन भएन नि ।’

वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाई छ । उनले ललितपुरको सबैभन्दा ठुलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने,‘साना हलहरुले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरुले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’

खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफुलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

नायक खड्काले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिईए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभुति नदेखाएको उनको गुनासो छ ।

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने,‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले उक्त फिल्म जुम्लामा सुटिङ भएकै कारण काठमाडौंले विभेद गरेको आरोप लगाएका छन् ।

उनले भने,‘नेपालका हलमा भारतीय फिल्म लगाउने तर नेपाली फिल्महरु चल्न नदिने हलहरु विदेशतिरै चलाउनुुपर्ने हाम्रो माग हो ।’ नेपालका हलले ८० प्रतिशत विदेशी फिल्म चल्न दिने गरेको उनको भनाई थियो । फिल्मबाटै भारतले नेपालबाट अरवौं पैसा लैजाने गरेको भन्दै उनले नेपालीको धेरै पैसा विदेशीएको टिप्पणी गरे ।

चीनले वर्षमा २० वटामात्र विदेशी फिल्म चल्न दिने भन्दै नेपाली हलले पनि त्यसबारे सोच्नुपर्ने बताए । जुम्लामा फिल्मको शत प्रतिशत सुटिङ भएको भन्दै उनले फिल्म प्रदर्शन पछि जुम्लामा पर्यटकको संख्या पनि ह्वात्तै बढ्ने जिकिर गरे । शाहीले फिल्म क्षेत्रको सम्पतिको स्रोत अब आफुहरुले खोज्ने समेत चेतावनी दिए ।

त्यस्तै, प्रकाश चलचित्रका स्क्रिप्ट–राइटर विकास सुबेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको चलचित्र चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद् भएको धारणा राखे । फिल्म नचल्ने र दर्शकले कम रुचाउने आंकलन गरेका फिल्महरुले नै दर्शकको मन जित्ने उनको विश्वास छ ।

देशमा बौद्धिक चिज हेर्ने जमातको कमी भएको उनको भनाई थियो । फिल्म वितरकले नेपालीपन बोकेको चलचित्रलाई प्राथमिकता दिनुपर्नेमा त्यसको उल्टो निराशा उत्पन्न गराएको भन्दै उनले दुःखेसो पोखे । उनले भने,‘कुनै त्यस्ता तत्वहरु÷समुहहरु नेपालीपन बोकेका फिल्मलाई बाइकट गर्न हाम्रो फिल्मविरुद्ध लागेका छन् ।’

 

प्रतिक्रिया