दुईहप्ते अन्तर्राष्ट्रिय मिडिया गोष्ठी भक्तपुरमा सुरु

राष्ट्रिय समाचार समिति

भक्तपुर, १९ भदौ : अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी भक्तपुरमा सुरु भएको छ । गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले आजदेखि दुईहप्ते गोष्ठी सुरु गरेको हो ।

कार्यक्रममा वाग्मती प्रदेशका सभासद सुरेन्द्रराज गोसार्ईँको कार्यपत्र प्रस्तुतीले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण गर्ने बताउनुभयो । विभिन्न देशका विद्यार्थीले पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै कार्यपत्रहरू प्रस्तुत गरी विज्ञहरूको टिप्पणीमार्फत कार्यपत्रलाई कसिलो बनाउने उद्देश्यले गोष्ठी सञ्चालन गरेको हो ।

गोष्ठीमा विद्यार्थी एलिना भेलेले ‘उत्तर कोरियाको मिडिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको बताउँदै उत्तर कोरिया प्रचार गरिएजस्तो तानाशाही नभएको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईँले आफूले उत्तर कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्ग पाएको अनुभव सुनाउँदै कोरियामा इन्टरनेटको सुविधा व्यापक भएको र विज्ञान तथा प्रविधिको विकास पनि उत्तीकै रहेको बताउनुभयो ।

नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानी गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोहीअनुसार नै इन्टरनेटको पहुँच दिएको उहाँले बताउनुभयो । राजनीति शास्त्रका शिक्षक एवं अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको बताउनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीका ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताउनुभयो ।

पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुईहप्ते गोष्ठीमा विद्यार्थीले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझावअनुसार परिमार्जन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया