काभ्रे, २२ भदौ : आगामी असोज ३ गतेदेखी काभ्रे महोत्सव हुने भएको छ । व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ काभ्रे उद्योग वाणिज्य संघले नेपालीहरूको महानपर्व दशैँको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।
महोत्सव बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा हुने काभ्रे उद्योग वाणिज्य संघले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै काभ्रे उद्योग वाणिज्य संघले कोरोना महामारीका कारण ढलेको अर्थतन्त्र उठाउनको लागि स् महोत्सव गर्न लागेको जानकारी गराएको छ ।
महोत्सवमा स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राखिने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए ।
महोत्वस स्थलमा प्रवेश गर्नको लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थीका लागि भने ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघले जनाएको छ ।
१ सय १५ वटा स्टल रहने महोत्सवमा साधारण स्टलहरुलाई १७ हजार ५ सय, अटोमोवाइललाई ३० हजार, होटल रेष्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार स्टल शुल्क तोकिएको छ ।
करिव ५० हजार जनाले महोत्सव अवलोकन गर्ने र उक्त महोत्वस अवधिभर ३ करोड बराबरको कारोवार हुने संघको अनुमान छ ।
स्टल बुकिङ गर्दा ५०% प्रतिशत भुक्तानी अग्रिम बुझाउनु पर्ने , बनेपा नगरपालीका भित्र दर्ता रहेका व्यवसायीहरुका लागी स्टल बुकिङमा १५% छुटको व्यवस्था गरिने,एक भन्दा बदि स्टल बुकिङ गर्ने लाई १०% छुटको व्यवस्था गरिने वाणिज्य संघ काभ्रेले जनाएको छ ।
काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौंले गर्नेछ ।
भने प्रवर्द्वकमा नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौं रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको भव्य प्रस्तुति रहने महोत्सव असोज १५ गतेसम्म चल्नेछ ।