नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिककाे घोषणा

admin

काठमाडौँ, २३ भदौ : नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।

क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् ।

पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली रहेका छन् । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाग्गा रहेका छन् ।

क्यानले यस अघि ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ । पत्रकार सम्मेलनमा क्यानका सचिव प्रशान्त मल्लले लिगको तयारी तीव्र रुपमा भइरहको बताउनुभयो । उहाले खेल फ्रेन्चाइज क्रिकेट अनुसार नै अघि बढ्ने र ड्राफ्टमा खेलाडीहरुलाई खुल्ला राखिएको बताउनुभयो ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।

प्रतिक्रिया